एउटा खुम्चिएको मन : प्रेम र धोखाको कथा

एउटा खुम्चिएको मन : प्रेम र धोखाको कथा

हाम्रो विवाह भएको दश वर्ष बितिसकेको थियो । सबैलाई मेरो जीवन पूर्ण देखिन्थ्यो-मायालु श्रीमान्, दुई जना राम्रा बच्चा र सुरक्षित भविष्य । साथीभाई, आफन्त र मेरा माइतीले मेरो जीवनको उज्यालो पक्ष मात्र देखे । तर, उनीहरूले कहिल्यै अँध्यारो पाटो देखेनन् । सायद उनीहरूले देख्न चाहेनन्, या कहिल्यै प्रयास गरेनन् ।

आज विहान पारिलो घाम लागेको थियो । झ्याल बाहिर चिरबिर गर्ने परेवा र भँगेराका जोडीले वातावरण भरेका थिए । गौंथली चरा पनि जोडीमा बसेका थिए । त्यो दृश्यले मेरो अनुहारमा हल्का मुस्कान ल्यायो, तर मनभित्र पीडा थपिदियो । विवाहअघि देखेका सपनाहरू झल्झली आँखामा नाच्न थाले । कति मीठो भ्रममा रहेछु म ।

आज रमेशसँगको विवाहको दशौं वार्षिकोत्सव थियो । म आफैं अचम्ममा छु, म यो खोरमा दश वर्षसम्म कसरी बसेँ ? म सोच्थेँ- विवाहको फोटोबाहेक, म यो घरमा आएपछि कति पटक हाँसे होला ?

पछिल्ला सात दिनदेखि रमेशको अत्तोपत्तो थिएन । न फोन, न सन्देश- जता हरायो त्यतै । मेरो मन पिरले भरियो । वर्षगाँठको दिन पनि याद नराख्ने कस्तो मानिससँग मेरो विवाह भयो ? भन्दै आँसुको भेल बग्न थाल्यो ।

त्यही बेला, मोबाइलमा सन्देश आयो । श्रीमानले सम्झिए भन्दै म खुसी भएँ । तर त्यो खुसी क्षणिक थियो । सन्देश रमेशको होइन, कसै अनजान व्यक्तिको थियो । शब्दहरू गहिरा र रहस्यमय थिए । मेरो मन छियाछिया भयो । सन्देश पाँच पटक पढेँ, तर विश्वास लागेन । आँसु रोकिएन । डरले मन अतालियो, तर नाबालक बच्चाहरूको सम्झनाले म थामिएँ ।

मलाई मेरी आमालाई फोन गरेर रुने मन थियो । तर उनको आवाज दिमागमा गुन्जियो: “सानातिना कुरा माइतीमा नसुनाउनु । सहनशील हुनु । सबैको मन राख्नु ।”

बीस वर्षकै उमेरमा मेरो विवाह रमेशसँग भएको थियो । एक वर्षपछि उनी सरकारी जागिरे भए । जीवन स्थिर लाग्यो । उनी पैसा पठाउँथे, हरेक हप्ता घर आउँथे । हाम्रो कुराकानी दिनदिनै हुन्थ्यो । तर समयसँगै उनी पराइझैँ भए ।

अहिले, हाम्रो विवाहको दशौं वर्ष भयो । रमेश अर्को महिलासँग विवाह गर्न लागेका रहेछन् । हाम्रो आठ वर्षीय छोरा र पाँच वर्षीया छोरी हुँदा हुँदै, उनले हामीलाई छोडेर अरूसँग जाने निर्णय गरे ।

म आफैंलाई दोष दिन थालेँ । “मेरो कमजोरी के थियो ? मैले के गल्ती गरेँ ?” तर यो मेरो गल्ती होइन । साँचो प्रेम स्वार्थरहित हुन्छ । जसले जीवन सजिलो बनाउँछ । तर रमेशको प्रेम स्वार्थी रहेछ । उनले आफ्नो बच्चाहरूलाई समेत भुले ।

प्रेम त परिवारसँग, साथीहरूसँग, आफ्ना प्रियजनहरूसँग जोडिएको हुन्छ । तर आज मेरो श्रीमान्को प्रेम अरूसँग बाँधिएको छ । यो पीडा कसलाई सुनाऊँ ?

भनिन्छ, “फूलको आँखामा फूलै संसार ।” प्रेम यस्तो पवित्र चिज हो, जसले उमेर र समय नहेरी, जुनसुकै बेला फुल्न सक्छ । तर प्रेममा आत्मियता, हार्दिकता र निस्वार्थता हुनुपर्छ । यही कुराले प्रेमलाई बचाइराख्छ । अब मेरा बच्चाहरूको अवस्था कस्तो होला ? उनीहरूको भविष्य कसरी निर्माण गर्ने ?

प्रत्येक मानिसको मनमा उमेर अनुसार एक प्रकारको प्रेमभाव अङ्कुराउँछ । तर प्रेम केवल आकर्षणको विषय होइन, बुझाइको पनि कुरा हो । विवाहको दश वर्षपछि पनि रमेशले मलाई बुझ्न सकेनन् ।

अब मेरा लागि मात्र एक उपाय थियो- मेरा बच्चाहरूको लागि बलियो भविष्य बनाउने । उनीहरू नै मेरो शक्ति थिए । मेरो माया शुद्ध थियो, स्वार्थरहित थियो ।

सायद, कुनै दिन रमेश पछुताउनेछन् । तर त्यो बेला धेरै ढिला भइसकेको हुनेछ । तबसम्म, म मेरा बच्चाहरूका लागि एउटा यस्तो जीवन बनाइसकेको हुनेछु, जहाँ प्रेम साँचो, शुद्ध र शाश्वत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top