मलाई अहिले पनि सम्झना छ, त्यो दिन जस दिन मैले आफ्नो जागिरलाई अलविदा भनेँ । जागिर पाउँदा मैले अत्यधिक खुशीको अनुभव गरेको थिएँ । पहिलो दिनको उत्साह र उमंग भित्रै एउटा नयाँ भविष्यको आशा थियो । साथीभाइसँग खुसीका क्षणहरू साट्न र आमाबाबाको आँखामा गर्वको चमक देख्न पाउँदा त्यस समयको सम्झना आज पनि ताजा छ । मलाई लाग्थ्यो, अब जिन्दगीमा कहिल्यै आर्थिक अभाव भोग्नु पर्ने छैन ।
सानोदेखि ठूलो सपना देख्ने म, अरूले जागिरबाट सजिलै पैसा कमाएको देख्दा आफूले पनि त्यस्तै प्राप्त गर्न सक्छु भन्ने विश्वास राख्थे । जागिरको पहिलो दिनको राति म अत्यन्त निश्चिन्त र खुशी थिएँ । तर, जिम्मेवारीहरू बढ्दै जाँदा, मैले बिस्तारै बुझेँ कि जागिरसँगै मानसिक चुनौतीहरूको पनि सामना गर्नुपर्छ ।
म काममा कुनै कमी नगरी पुरा जिम्मेवारी निभाउँदै आएँ, तर बिस्तारै मैले आफ्नो आत्मसन्तोष गुमाउन थालेँ । कामको दबाबले मलाई थिच्न थाल्यो र म एउटा जीवित लाश जस्तो महसुस गर्न थालेँ । कामको परिणाम सधैं अपेक्षाभन्दा फरक आउँथ्यो र कार्यालयको वातावरणले मलाई निराशा थप्ने काम गर्यो ।
हाकिमले मेरो मिहिनेतको कुनै कदर गरेनन् । हाकिमको व्यवहार सधैं दबाब दिने र शक्ति प्रदर्शन गर्नेमा सीमित थियो, प्रेरणा दिने कुरामा थिएन । यसले मलाई मानसिक तनावमा डुबाउन थाल्यो । के मैले यसरी नै बाँच्न चाहन्छु भन्ने सोध्दै गर्दा, मैले जागिर छोड्ने निर्णय गरें । मलाई थाहा थियो, आम्दानीको स्रोत बन्द हुनेछ र नयाँ चुनौतीहरू आउनेछन् । तर, मैले मेरो मानसिक स्वास्थ्य र आत्मसम्मानलाई प्राथमिकता दिने निर्णय गरें ।
मैले सोचे जागिरे जिवनमा जुन दिनदेखि तपाईंले आफैंलाई मालिक ठान्नुहुन्छ, त्यही दिनदेखि तपाईंले मालिकको जस्तो काम गर्न थाल्नुहुन्छ । जब तपाईं मालिकको जस्तो काम गर्नुहुन्छ, तब तपाईंलाई मालिक बन्न समय लाग्दैन । जागिरको क्रममा यदि तपाईंमा मालिक बन्ने भावना हुन्छ भने, तपाईंको जिम्मेवारी, सोच र कार्यशैलीमा ठूलो परिवर्तन आउँछ ।
तर, जबसम्म तपाईं आफूलाई जागिरे वा नोकर ठान्नुहुन्छ, तबसम्म तपाईंको कामले अपेक्षित परिणाम दिन्न । मालिक बन्न चाहनेले मात्र धेरै काम गरेर पुग्दैन, लामो समयसम्म काम गर्नुपर्छ, जिम्मेवारी लिनुपर्छ र जोखिम उठाउनु पर्छ ।
जागिरमा दुई प्रकारका मानिसहरू हुन्छन् । एक प्रकारका जागिरेहरू केवल समय पुरा गर्नमा ध्यान दिन्छन्, जबकि अर्का प्रकारका जागिरेहरू कामको गुणस्तरमा ध्यान दिन्छन् र उत्कृष्ट परिणाम प्राप्त गर्नको लागि प्रयासशील रहन्छन् ।
हाम्रो शिक्षा प्रणालीले धेरैजसो तल्लो स्तरका जागिरेहरू तयार पार्छ । किशोर-किशोरीहरूले नोकर बन्ने चाहना राख्न थालेका छन् भने, उनीहरूको सोचमा परिवर्तन ल्याउनु आवश्यक छ । केवल काम खोज्नुको सट्टा मालिक बन्ने सोचलाई प्राथमिकता दिनु आवश्यक छ ।