जीवन, एक अनन्त यात्रा, जहाँ चुनौतीहरूले निरन्तर साथ दिन्छन् । तर जब म जस्तो मानिस, जसले आफ्ना सपना र आकांक्षाहरूलाई साकार पार्न संघर्ष गरिरहेको छ, बेरोजगार बन्छ, तब यो यात्रा झन् कठिन महसुस हुन्छ । साथीहरूको अनुभव सुन्दा कहिले काहीँ आफ्नै कथा जस्तै लाग्छ । उनीहरूको संघर्ष र भोगाइले मेरो अवस्थालाई अझ गहिरो रूपमा बुझ्न मद्दत गर्छ ।
गाली सहेर काम गर्ने चुनौती
मैले पनि कहिले काहीँ सोचें । के मैले गाली सहेर पनि काम गर्न सक्नुपर्थ्यो ? एक जना साथी, जो बैंकमा काम गर्छिन्, भन्छिन्, “यदि तिमी गाली खान तयार छौ भने, काम गर्न सक्छौ ।” मैले सोचें, के म पनि त्यस्तो अवस्थामा टिक्न सक्थें ? यो वाक्यले मलाई मनन गरायो । के हाम्रो पेसागत जीवन केवल गाली सहनकै लागि हो ?
खेलमा राजनीति र आफन्तवाद
एक जना खेलाडी साथीले आफ्नो कथा सुनाइन् । उनी भन्छिन्, “खेलमा हुने राजनीति र आफन्तवादका कारण टिक्नै सकिन ।” उनको अनुभवले मलाई मेरो क्षेत्रको राजनीति र अन्याय सम्झायो । योग्यताको मूल्यांकनभन्दा सम्बन्धको महत्त्व धेरै हुने समाजमा मैले कति पटक अवसर गुमाएँ होला ? मैले पनि जीवनका केही अवसरहरू यस्तै कारणले गुमाएको महसुस गरें ।
मास्टर डिग्रीपछि जागिर खोज्दा निराशा
मैले मास्टर डिग्री सकाएको धेरै समय भइसक्यो, तर जागिर पाउन संघर्ष गरिरहेको छु । साथीको भनाइ, “गलत नजरले हेरियो, टिक्न सकिन ।” केही अफिसका वातावरणमा प्रवेश गर्दा नै त्यो असजिलो महसुस हुन्छ, जहाँ योग्यताभन्दा सामाजिक सोच बढी महत्त्व राखिन्छ । यसले मलाई बारम्बार निराश बनाउँछ ।
सुन फल्ने देश छोड्नु पर्ने बाध्यता
मैले पनि विदेश जाने सोचें, तर कतिपय साथीहरूले विदेशमा भोगेको संघर्षले मलाई रोक्यो । एक जना साथी भन्छन्, “सुन फल्ने देश छाडेर विदेशको भूमरीमा बेकारमा आएछु ।” यो सुनिरहँदा लाग्छ, के नेपालमै सुन फल्ने कुनै अवसर बनाउन सकिन्न ? तर, कहिले काहीँ बाध्यता यति धेरै हुन्छ कि विकल्पको खोजीमा विदेश जानुपर्छ ।
मिडियामा काम, स्वतन्त्रताको अभाव
नेपालमै मिडियामा काम गर्ने साथीले भने, “हरेक दिन उही काम गर्दा गर्दै बोर भइसके, अब चरा झैँ उड्न चाहन्छु ।” म सोच्दै छु । यदि मैले कुनै काम पाउँदा यस्तो महसुस गरें भने, के त्यो मेरो लागि सही निर्णय हुनेछ ? बेरोजगारीको अवस्थामा बस्नुभन्दा केही नियमित काम गरिरहनु राम्रो हो कि, तर स्वतन्त्रताको अभावले मानिसलाई झन् बन्धनमा बाँध्छ ।
बेरोजगारीले सिकाएको पाठ
मैले बेरोजगारीको अवस्थालाई केवल समस्या होइन, जीवनको पाठका रूपमा हेर्ने प्रयास गरेको छु । साथीहरूको अनुभव र आफ्नै परिस्थितिले मलाई के सिकायो भने ।
१. आत्मबल र धैर्यताको आवश्यकता
गाली सहेर काम गर्नुपर्दा होस्, राजनीति र भेदभावको सामना गर्दा होस्, या रोजगारीको अभावमा समय बिताउँदा होस्, आत्मबल र धैर्य नै जीवनका सबैभन्दा ठूला हतियार हुन् । म आफैँलाई बारम्बार सम्झाउँछु । यो समय स्थायी होइन ।
२. व्यक्तिगत कौशलको विकास
म सोच्दै छु । यो समयलाई मैले आफूलाई सुधार्न र नयाँ सीप सिक्न प्रयोग गर्न सक्छु । बेरोजगारीको समयलाई केवल निराशा होइन, अवसरका रूपमा प्रयोग गर्न सकिन्छ ।
३. व्यवस्थागत सुधारको आवश्यकता
नेपालमा रोजगारका अवसरहरूको कमी, पारदर्शिताको अभाव र सामाजिक सोचको गलत असरलाई चिर्न व्यवस्थागत सुधार आवश्यक छ । योग्यताका आधारमा अवसर दिने संस्कार विकास गर्न राज्य र समाज दुवैले काम गर्नुपर्छ ।
४. विदेश र देशको तुलनामा सन्तुलन
विदेश जाने या नेपालमै केही गर्ने निर्णय कठिन छ, तर दीर्घकालीन रूपमा आफ्नो देशमा केही गर्ने सोच बलियो बनाउनुपर्छ । यो सोचले व्यक्तिलाई मात्रै होइन, समग्र समाजलाई फाइदा पुर्याउँछ ।
अतत: बेरोजगारी केवल समस्या होइन, यो एउटा पाठ हो, जसले जीवनलाई नयाँ तरिकाले बुझ्न र आफूलाई सुधार्न प्रेरित गर्दछ । साथीहरूको अनुभवले मलाई सिकायो, चाहे जुनसुकै परिस्थिति होस्, जीवनका चुनौतीहरूलाई सामना गर्दै अघि बढ्नुपर्छ । हरेक कठिनाइले अवसर लुकाएर राखेको हुन्छ । त्यसलाई देख्न र अपनाउन सक्नुपर्छ । जीवन संघर्ष हो, तर यो संघर्षकै बीचमा खुसी खोज्ने प्रयास जारी राख्नुपर्छ ।