‘मेयर ज्यू, हनिमुन पिरेडमै रमाउने कि जनताको समस्याको समाधान पनि गर्ने ?’

‘मेयर ज्यू, हनिमुन पिरेडमै रमाउने कि जनताको समस्याको समाधान पनि गर्ने ?’

काठमाडौंलाई सुन्दर र सफा सहरका रुपमा विकास गर्ने योजनाहरु नबनेका होइनन् । तर, आज भोली काठमाडौंका सार्वजनिक स्थल र सडकका चोक थप कुरुप बनिरहेको छ । राजधानीको सामाजिक अवस्था, सरसफाई र समृद्ध पक्ष समग्र देशको वास्तविकताको मुहार चित्रका रुपमा रहनुपर्दछ । तर, आम नागरिकका लागि सपनाको सहरका रुपमा रहनु पर्ने काठमाडौं आफैं भित्र कुरुप बनिरहेको छ । कुनैबेला मन्दिरै मन्दिरको सहरका रुपमा विश्वविख्यात काठमाडौं यतिबेला फोहोर नै फोहोरको शहर बनिरहेको छ ।

हनिमुन पिरेडमै भएकाले स्वतन्त्र रुपमा मेयरमा निर्वाचित बालेन शाहले फोहोर व्यवस्थापन गर्ने प्रयास गरिरहेका होलान् भन्न सकिएला तर उनका लागि फलामको चिउरा चपाए सरि भइरहेको प्रस्त रुपमा देख्न सकिन्छ । सायद उनलाई कहिले काही लाग्दो हो म कस्तो लफडामा फस्न पुगे । किनकी यसअघिका मेयर समेत फोहोर व्यवस्थापन गर्न असफल भएका थिए । यसो भन्दैमा बालेनलाई छुट दिने अवस्था छैन ।

आज रक्षाबन्धनका दिन बालेनकै घर वरिपरिको क्षेत्रमा करिब १ घण्टा घुम्ने अवसर मिल्यो तर उनले गरेका घोषणा अनुसार मैले कुनै किसीमको उपलब्धी भने देख्न सकिन । करिब ६ महिना अघि म घुम्दा जस्तो दृष्य देखेको थिए, आज बालेन निर्वाचित भएको ७० दिन नाघ्दा समेत कुनै खास उपलब्धि महसुस गर्न सकिन ।

फोहोर व्यवस्थापनमा बालेन असफल भए भन्दा मैले आलोचना गरे भन्ने सन्देश जान सक्छ तर म आज यस बाहेकका विषयमा केन्द्रित हुन चाहन्छु । मेयर बालेनको घोषणामा सडक एम्बुलेसको व्यवस्था हुने र भट्किएका सडक तुरुन्त बनाउने भनिएको थियो तर उनकै घर रहेकै क्षेत्रमा आज घुम्दा त्यस्तो दृष्य कतै देख्न सकिन ।

६ महिना अघि जस्तो सडकको अवस्था थियो उस्तै पाए । त्यतिबेला सडकमा धुलो उडेको देखिन्थ्यो तर अहिले सडकमा खाल्डा खुल्डी छन् जसमा पानी भरिएको प्रस्त देख्न सकिन्छ । यसो भन्दै गर्दा तपाईहरुले बाहिरि सडकको कुरा गरेको भन्ने सोच्नु भएको होला तर मैले भित्रि सडकका विषयमा बताएको हुँ ।

त्यस्तै, अर्को दृष्य पनि देखे जुन दृश्यले मेरो आखाँ रसायो । ३/४ वर्षकी बालिका र ५/६ वर्षका बालक फोहोरको थुप्रोबाट सिसाका बोटलहरु निकालेर बोकेर हिडिरहेका थिए । ति नाबालक बालबालिकाका लागि स्थानिय सरकारले केहि गर्नुपर्ने होइन र ? कि स्थानिय सरकार बजेत बनाउने र खर्च कता गर्ने भनेर अगाडी बढ्ने मात्र हो ?

बालबालिकालाई काममा नलगाउने भन्ने कुरा भएको नि धेरै भइसक्यो तर गैरिगाँउ क्षेत्रकै वर्कसपमा बालबालिकाको प्रयोग भइरहेको छ, यसमा न त स्थानिय सरकारको ध्यान गएको छ न संघिय सरकार, प्रदेश सरकारले त झन् भत्ता खाने पचाउने बाहेक के नै काम गरेको छ होला र ?

म सरकारमा रहेका कर्मचारी, मन्त्री एवम् पदाधिकारीलाई अनुरोध गर्दछु, तपाईहरु घुस खानुस् सरकारी पैसमा मोज गर्नुस् तर आम जनतालाई केन्द्रविन्दुमा राखेर केहि त काम गर्नुस् । सडकको अवस्था बेहाल छ, बालबालिका फोहोरमा खेल्न बाध्य छन् भनेपछि विकास चाहि कता भइरहेको छ ।

एकातिर ठूलाठूला महल बनेका छन् अर्कोतिर बालबालिका फोहोरमा खेल्दै रमाउँदै छन् भन्दा अतियुक्त नहोला । बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हेर्नुस्, कस्तो समस्यामा बसिरहेका छन् । पानी पर्दा घर भित्र पानी पस्छ नपर्दा घरको सबै फोहोर खोलामा पुग्छ, यसो भन्दैमा सरकार निरिह बनेर बस्न सुहाउँछ होला र ?

मैले मेयर बालेनको आलोचना गर्दा धेरैलाई रिस पनि उठेको होला तर उहाँलाई म एउटा सुझाव पनि दिन चाहन्छु । तपाई मिडियाकै केन्द्र विन्दुमा रहेकाले तपाईलाई केहि हदसम्म चुनाव जित्न सहज भयो होला तर अहिले तपाई भागिरहनु भएको छ । क्रिपया तपाई आफ्नो भनाई राख्न आउनुस्, तपाईलाई जनताले साथ दिएका छन्, गुनासो सुन्नुस् जसले समस्याको समाधान गर्ने उपाय समेत निस्कनेछ ।

केहि दिन अघि सर्वोच्चको आदेश पश्चात तपाई रिसाउनु भएको जस्तो भान नि भयो तर तपाईले आफ्नो पाइला चाल्नु अघि कसरी अगाडी बढ्ने भनेर सोच विचार गरि अगाडी बढ्दा केहि गलत हुन्थ्यो होला र ? तपाई स्वतन्त्र उम्मेदवार भएर निर्वाचित हुनु भएको हो, क्रिपया संघिय सरकारसँग तालमेल गरेर अघि बढ्नुस् तपाईलाई केहि हदसँम्म सहज हुनेछ । यदि संघिय सरकारबाट असहयोग भयो भने जनता सामु राख्नुस् तपाईका लागि आम जनता सधै अघि आउने छन् । गल्ती बोले माफ पाउ, अरु तपाईको विचार । (यहाँ गरिएका कुराहरु मेरा निजी विचार हुन्, कसैलाई चित्त नबुझे म माफी माग्न चाहन्छु ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top