डिभी त प्रत्येक वर्ष भर्दै आएकै हो । चित्त बुझाउनको लागि नतिजा हेर्यो छोड्यो, पर्ने भए पो । यस वर्ष डिभीको नतिजा आउँदा त्यति जाँगर लागेको थिएन, न त खासै उत्साहित नै भएको थिए । फुर्सदमा हेरौँला नि भन्ने मनमा लागेको थियो तर चंचल मन कहाँ मान्थ्यो र ? चिट्ठा भरेपछि केहि आश त हुने नै रहेछ ।
ल्यापटप खोले, अब कनफर्मेसन नम्बर कता राखेको छु भन्दै खोज्न लागे । इन्टरनेट स्लो थियो । चलेन । मनको ढुकढुकी बढ्दै गएको थियो । हैट ! यही बेला इन्टरनेट पनि चल्दैन । जतिबेला इन्टरनेटको आवश्यकता बढी भएको हुन्छ । जहिले यस्तै हुन्छ ! कति स्लो भएको हो भन्दै म आफूसँगै रिसाए । इन्टरनेटको हालत सुधार हुने लक्षण अझै देखिएन ।
अब मलाई डिभी परिहाल्यो भने के गर्ने भन्ने चित्ताले सताउन थालिसकेको थियो । आफ्ना आफन्तजस्तै नचाहँदा नचाहँदै पनि देश छोड्नुपर्छ भन्ने विषयले सतायो । अब भोलिदेखि कहाँबाट देख्नु यो काठमाडौं अनि यो सहर ? अब कसलाई गर्नु गुनासो ? सहरमा हामी थियौँ र पो यो भएन त्यो भएन भनेर गुनासो गर्न पाइएको थियो । सहरमा नै नभएपछि कसलाई गर्नु गुनासो ?
म अब घर छोड्ने दिन सम्झँदै भक्कानिन पुगे । म छिट्टै आउँछु नि आमा भन्ने बाहेक अरू कुनै शब्द मसँग हुने थिएन । “पैसाको मुख कालो हुने रैछ । मेरो छोरा मबाट टाढा हुँदैछन्”, भन्दै आमा भक्कानिने छिन् । आमा जति म पनि भक्कानिएको हुनेछु । जीवनको सबैभन्दा कठिन दिन हुने छ मेरो लागि ।
सायद बाको आँसुले झन् मलाई गलाउथ्यो । आमालाई सम्झाउने बा आफैं भक्कानिने छन् । यस्तो लाग्यो त्यो दिन आँसुको खोला नै बग्छ होला । “म सधैंको लागि कहाँ जान लागेको हो र ?” भन्दै आफूले आफैलाई सम्झाउथे होला ।
हत्तेरिका म त कल्पनामै पो हराउन पुगेछु । अब चाँहि नेट चलेको हो कि झै लाग्यो हेरे । हैट, यस वर्ष पनि कुनै नयाँ कुरा पाइन, डिभी परेन । साथीले सोध्यो- “के भयो, तेरो नतिजा ?”
आँसुले रसाएका थिए मेरा आँखा । भक्कानिदै भने, “साम्राज्यवादको विरोध गर्ने हो, एमसीसी विरुद्द लाग्ने हो ।”
विगतलाई सम्झीए । बुवाले डिभी भन्नुपर्दैन भन्दा “डिभी भर्ने मात्र हैन, स्योर पर्छ । यो वर्ष हजुरहरुको छोरा अब सिधै अमेरिका” भन्दै उफ्रिएको थिए ।
“ल ल तँलाई पनि परोस्” – आमाले शुभकामना दिएकी थिइन् ।
सायद उनले सोचेकी थिइन्- “छोरालाई डिभी परेत बुढेसकालमा भएपनि आफू पनि अमेरिकी दुनियाँमा रमाउन पाइने थियो कि !”