मातातीर्थ औसी र आमा

मातातीर्थ औसी र आमा

संसारमै सबैभन्दा मिठो र प्रिय शब्द हो ‘आमा’ । सन्तानलाई चुनौतीसित लड्न सिकाउने, अप्ठ्यारो समयमा साहस दिने, बाँच्न सिकाउने अनि हरेक दु:खको एउटै औषधि हुन्, आमा ।

जगतकै परम पवित्र शब्द हो ‘आमा’ । संसारमा सबैभन्दा सजिलो र अनमोल शब्द हो- आमा । आमा आफैँमा निर्मल निस्वार्थ माया मात्र नभई घाम हुँदा चाहिने छाया पनि हुन् । आमा शिक्षाको पहिलो हरफ, चेतनाको पहिलो ज्योति र साक्षरताकी खानी हुन् ।

घरभित्र पस्ने बितिकै आँखाले खोज्ने पहिलो व्यक्ति हुन्, ‘आमा’ । छक्क पर्दा उच्चारण गर्ने शब्द हुन्, आमा । दु:खमा पुकार्ने शब्द पनि- आमा । बाचा कसम खाँदा प्रयोग गरिने शब्द हुन्, आमा । बोली फुट्दा उच्चारण हुने पहिलो शब्द पनि आमा ।

आमा, एउटा यस्तो शब्द हो, जुन उच्चारण गर्दा उच्च सम्मान र न्यानोपनको आभाष हुन्छ । आज उनै आमालाई पुज्ने दिन, मातातीर्थ औँसी । शास्त्रमा आमालाई पिताभन्दा पनि माथिको ओहोदामा राखिएको छ । संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा नै हुन् ।

सन्तान जीवनमा असफल हुँदा होस् वा सन्तानले दु:ख पाउँदा होस्, चाहे सन्तान कुलतमा नै फसेको किन नहोस् । सन्तानका हरेक गलत कदममा आमाले पीडाको महसुस गर्छिन । कसैको सफलतामा कोहि एकदमै खुसी हुन्छन् भने त्यो आमा नै हुन् ।

आमा सिर्फ आमा मात्र हुँदिनन्, एक सन्तानको लागि पहिलो पुस्तक पनि हुन् । पहिलो गुरु हुन्, आमा नै पहिलो साथी हुन्, आमा नै पहिलो सल्लाहकार हुन् र आमा नै हरेक पीडाको सारथी हुन् ।

जब एक बालक जन्मिन्छ, तब उसले नयाँँ संसार देख्छ तर आमाको अर्को नयाँँ संसार त्यो सन्तान नै हुन्छ । आफ्नो सन्तान आमाको लागि सबथोक हुन्छ । आमालाई हाँस्नु छ भने सन्तान हाँसेको देख्नुपर्छ । सन्तानलाई खुसी देखेपछि मात्र आमा खुसी हुन सक्छिन् ।

बाल्यकालमा आमाले आफ्ना सन्तानलाई केहि नहोस् भनेर रेखदेखमा २४ सै घण्टा स्याहार्थिन् । तर, आज आमाका लागि सन्तानलाई १ घण्टा निकाल्न पनि हम्मेहम्मे पर्छ । आखिर किन ?

आज एउटा कुराले चाँहि असाध्यै दु:ख लाग्छ, आमा । के हामीले आफ्नै आमालाई सम्झन पनि मातातीर्थ औसी (आमाको मुख हेर्ने दिन) नै कुर्नुपर्छ र ? तिमीले आफूले मात्र माया गर्यौ आमा, आफ्नो सन्ततीलाई सिकाएनौं । सायद त्यसैको होला आमा, तिम्रो त्यो अमुल्य माया पनि भुल्दै छन् तिम्रा सन्ततिहरु ।

आफूले अमृत पिलाएका सन्तानहरुले विष ओकाल्दा पनि कति सहनशील छौं है ? सन्तानकै खुशीमा रमाउछौं । म चाहन्छु बुवाआमा सहाराविहीन हुने दृश्य अब देख्न हेर्न नपरोस् । सबैले आफ्नो कर्तव्य पूरा गरेमा बुवाआमाले बूढेसकालमा एक्लो महसुस गर्नुपर्ने छैन । दु:खी भई रोएर बस्नुपर्ने छैन । आमाको मुख हेर्ने दिनले सबै आमामा खुसी ल्याओस्, शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top