मेरा साथीहरू १२ कक्षा पश्चात धमाधम अस्ट्रेलिया, अमेरिका, जापान जस्ता मुलुकतिर लागे । केटाहरू विदेश जाउन्, म त यही देशमा बस्ने हो ब्याचलर, मास्तर सकेर पैसा छाप्ने हो भन्दै रमाउन थाले । मेरा निम्ती जिन्दगीको पहिलो गल्ती पढ्नु अनि दोस्रो चाहिँ बेलैमा विदेश नजानु नै भयो !
उता विदेशीएका साथीहरू धमाधम एयरपोर्टको टर्मिनलमा बसेर ‘बाई बाई नेपाल’ भन्दै सामाजिक सञ्जाल तताउने क्रम पनि रफ्तारमा चलिरहेको थियो । एकपछि अर्को गर्दै साथीहरूको विदेश जाने होडबाजी चलिरहँदा म भने एक एक गर्दै परीक्षा दिँदै थिएँ ।
६ महिनाको सेमेस्टरमा एक महिना यत्तिकै जाने, तीन महिना पढाई अनि दुई महिना परीक्षाको लागि अन्डरग्राउन्ड । अरु काम गर्ने कुरै भएन । खान र नित्य कर्मबाहेक अरु समय कोठामै वित्थ्यो । परीक्षा सकिएपछि आफूले आफैलाई ऐनामा हेर्थे अनि मनमनै भन्थे कति कुरुप भएछु । दारी, कपाल काटेर चिटिक्क भएर कोठा हेर्थे जताततै कितावहरु छरपष्ट हुन्थे । अरे वा, यति किताव पढेछु भन्दै आफै दंग पर्थे ।
४ वर्षको ब्याचलर, २ वर्षको मास्तर अनि नतिजा पर्खदा ७ वर्ष लाग्ने गर्छ । साथीहरु विदेशबाट विदामा आउँदा के गर्दैछस् अचेल ? भनिरहँदा मेरो त पढाइ नै सक्किएको हुँदैन, साथी भने पैसा कमाएर आएको हुन्थ्यो । लाग्थ्यो १२ पास गरेर विदेश नजानु नै मेरो जिन्दगीको सबैभन्दा ठूलो गल्ती थियो । के पढेर नेपालमै केही गर्छु भन्नु नै मेरो गल्ती थियो र ? आफूले आफैलाई प्रश्न गर्थे ।
अध्यन गर्दै गर्दा अस्ट्रेलिया गएको आफूभन्दा २ वर्ष सानो भाइको बिहेको निम्तो आयो । आफ्नो भने पढाइ सकेर कहिले पैसा कमाउने टुङ्गो छैन । फलानो साथीले जग्गा किन्यो रे, फलानोले घर बनाउँदै छ रे ! तर, मैले आफूमा गर्व गर्ने भनेको त्यही एउटा पढाइमा मात्रै थियो ।
आज मास्तर सकेको छु, प्रमाणपत्र हातमा बोकेर जागिरको खोजीमा भौतारिरहेको छु । अहिले म नितान्त बेरोजगार युवा हुँ । आज पनि दिनभर काम खोज्दै हिँडेँ, पाइएन । एक ठाँउमा बल्लतल्ल काम त भेटे तर त्यति पैसाले बाबुआमालाई खुसी दिनु कि कोठा भाडा तिरौं । उल्टै खर्चका लागि बाबुआमासँगै वित्ती गर्नुपर्ने अवस्था हुन्छ । आफूले आफैलाई धिक्कारदै भन्छु- ‘के नेपालमै बसेर पढनु अभिशाप हो ?’
भनिन्छ देशका खम्बा भनेका युवाहरु हुन् । त्यसैले कुनै समय दार्शनिक लेनिनले भनेका थिए, ‘मलाई युवाको एक पुस्ता देऊ ! म संसारलाई नै रूपान्तरण गरिदिन्छु ।’ तर, यो कुरा कतिपय देशमा लागु नहुन सक्छ । यस्को ज्वालान्त उदाहरण हो हाम्रै देश नेपाल । यहाँ युवाहरु विदेशीन्छन् ।
कोही आफ्नो घर खर्च जोहो गर्न, कोही बाल बच्चालाई गुणस्तरिय शिक्षा प्रदान गर्न र कोही बुढा बाआमाका फुटेका हात निको पार्न नसक्ने परिस्थिती सिर्जना भएकाले बाध्यताले देश छाड्ने स्थितीमा पुगेका छन् । जुन अवस्थाको सामना मैले पनि अचेल गरिरहेको छु ।
यसो भनिरहँदा परिवर्तन आजको भोलि नै त आउँदैन । आफ्नै तालु खुइलिसकेको छ, दार्ही फुल्न थालिसकेको छ तर नेताहरूको बुद्धि फिरेन । आफैं नेता बनौं भने पनि पेशाले त्यो दिंदैन । परिवर्तन हुन्छ नै आफ्नै पालामा भन्ने कुरामा आत्मसात् गर्न मनले मान्दैन । अनि सामाजिक संजालमाका भित्ताहरूमा आकोश पोख्न मन लाग्छ । विदेश गएका आफ्ना सहोदर साथीहरूसँग आफ्नो तुलना गर्न मन लाग्छ । त्यो साथीभन्दा म के कम थिएँ र ? भन्ने सोच मनमा लाग्छ ।
गाउँबाट शहर अनि शहरबाट विदेश हतारिएर गएको साथीको व्यक्तिगत विकास हेर्दा म छक्क पर्छु । यसो भन्दाभन्दै पनि देशलाई सुविधा र विकासको हिसाबले नर्क जस्तै भाको हेर्न कदापि मनले मान्दैन । हाम्रा बुढा भएका बाआमाले पछि भन्दा हुन्- ‘छोराछोरीले हामीलाई नर्कमा छोडेर स्वर्गमा आफूहरू मस्ती गर्दैछन् ।’
अहिले नेपालमा शिक्षा दिन प्रतिदिन महँगो र स्तरहीन बन्दै गएको छ । सेवाग्राहीले पाउने सुविधा झनै कठिन र व्यवस्थामा झनै भद्रगोल छ । भविष्यमाथि अन्योलको बादल यथावत् छ । राम्रा मान्छे छाडेर हाम्रा मान्छेलाई काखी च्याप्दा र हाम्रा मान्छेबाट पनि मेरा मान्छेमा झर्दा आज धेरै युवा निराश बन्न पुगेका छन् । बाध्यता भनौं या परिस्थितिले ‘बाइ बाइ नेपाल’ भन्नुपर्ने अवस्था छ ।
यतातिर बेरोजगारको पीडा अर्कोतिर जागिरेको पीडा बेग्लै छ । प्राइभेट बैंकमा जागिरे साथीले आफ्नो पीडा सुनाउँदा म अचम्ममा पर्छु । उनी भन्छन्- ‘घर पुग्न ढिलो भएको हुन्छ, अनि आमा भन्नुहुन्छ- ‘अलि चाँडो आइजा है रात नपार । घरमा अलि बेलैमा आउने गर है ।’ म- ‘हुन्छ, आमा’ भन्छु ।
हरेक बिहान अफिस जाने बेला आमाले मलाई बिदाइ गर्नुहुन्छ । आँखाले देख्ने ठाउँसम्म आमाले हेरिरहनुहुन्छ । ७/८ घण्टापछि यही घरमा फर्कन्छु तर पनि आमा निकै टाढा जान लागे झै सधै हेरिरहनु हुन्छ ।
अरू दिन त ढिलो स्वाभाविक रूपमै हुन्छ तर शुक्रबार पनि घरमा आउँदा झमक्कै हुन्छ । कतिबेला आउँछ भनेर आमा आँखा टट्टाइरहेकी हुन्छिन् । आगनमा पुग्ने वितिक्कै आमा मेरो नजिकै आउँदै भन्नुहुन्छ- ‘आज पनि राति आइस तँ ? तेरो अलि उज्यालोमा बिदा हुन्न ? तैंमात्रै जागिर खान्छस् कि के हो ? अहिले आउला छैन । एकैछिनमा आउला छैन, सधैं तारा लागेसी आउँछस् । भोलि बुढी ल्याएसी छोडेर जान्छे अनि थाहा पाउलास् ।’
आमाका कुरामा केहि प्रतिक्रिया दिन सक्दिन, एकोहोरो सुनिरहन्छु मात्रै । मनमनै आमाको कुरालाई सही ठान्छु । शनिबार पनि आमालाई भन्न करै लाग्छ, ‘आमा आज पनि हिजोकै टाइममा खाना पकाउनुस् न है ।’
आमाको मुहार एकाएक परिवर्तित हुन्छ । र भन्छिन्- ‘किन ?, आज त बिदा हो नि विस्तारै खाए हुन्छ नि ?’
आमा आज मेरो अफिसको काम छ, जसरी पनि जानुपर्छ । आमालाई बाध्यता सुनाउँछु । अब भने आमाको रिसाउँछिन् । ‘यो संसारमा तेरै रहेछ है कसैले नखाएको जागिर । हैन कस्तो जागिर हो तेरो ? कहिल्यै घरमा बास हुन्न, कहिले के भन्छ, कहिले के भन्छ ?’ ‘हैन कस्तो जागिर हो यो ? सबै तैँ जस्ता छन् त जागिर खाने ?’
म आमालाई सम्झाउँदै भन्छु- ‘सार्वजनिक बिदाको दिन मेरो पनि बिदा हुन्छ तर आफ्नै काम सकिएको हुँदैन, बाध्य भएर कहिले काहीँ अफिस गइरहनुपर्छ । कामको पेलान भएपनि बैंकमा सेवा सुविधा चित्त बुझ्दो नै छ यसमै खुसी छु ।’
‘जागिर आफूले पो खाने हो त आफैंलाई त्यही जागिरले खाने गरी कोही जागिर खान्छ र ? यो जागिर छाडिदे , सरकारीमा लड्’ आमाको कुरा सकिएको हुँदैन । सरकारी जागिर खाएका साथीभाइको पीडा पनि मेरो जतिकै त नहोला तर पीडा उनीहरुको पनि हुन्छ ।
सामाजिक मान्यता नै छ- सरकारी जागिरे हुनु भनेको भविश्य सुरक्षित हुनु हो । यही आम मनोवृत्तिले नै ‘सरकारी जागिरे’ बन्ने लिगलिगे दौडमा ठूलो संख्यामा युवा मरिहत्ते गर्ने गरेका छन् । ‘लाइफ सेक्युरिटी’का लागि तुलनात्मक रुपमा भरपर्दो मानिन्छ, सरकारी जागिर ।
सरकारी जागिरको टेको पाएपछि आर्थिक असुरक्षा झेल्नुपर्दैन भन्ने बुझाइ छ । तर, आम समाजले बुझ्दै आएको यो मान्यता पनि गलत हो कि भन्ने भान हुन्छ । अहिलेको अवस्थामा के सरकारी जागिरेको जीवन वास्तवमै सुरक्षित छ त ? खास गरी काठमाडौं उपत्यकामा बसेर सरकारी जागिरको चक्करमा झुण्डिरहेका ‘कर्मचारी’को घरगृहस्थी कसरी चलिरहेको छ ? विचार गर्नु आवश्यक छ ।
सरकारी जागिरलाई तुलनात्मकरुपमा सुरक्षित र कमाइका हिसावले सन्तोषजनक मानिरहँदा कतिपय कर्मचारी यस्ता छन्, जसको कमाईले मुस्किलले मात्रै जीवन निर्वाह भइरहेको छ । इमान्दार कर्मचारीहरु जागिर छाडेर रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता समेत सिर्जना भएको छ ।
माथिल्लो पदमा सुविधै सुविधा हुन्छ, तल्लो तहमा पेलानै पेलान हुन्छ । एकदिन पनि आफ्ना छोराछोरीलाई कहीँ कतै घुमाउन नलैजाने, कोही आफन्तको निम्तो मान्न नभ्याउने, आफन्त मर्दापर्दा पनि उपस्थिति जनाउन नसक्ने जागिरेहरू धेरै छन् । पहिले परिवार त्यसपछि जागिर हो । जागिर हामीले खाने हो तर धेरै परिवारमा जागिरले खाइरहेको देखिन्छ ।
जागिर, पद, प्रतिष्ठा भनेको क्षणिक समयको लागि हो तर परिवार, आफन्त, छिमेकी जागिर हुँदा पनि चाहिन्छन् जागिर सकिएपछि पनि चाहिन्छ । बाध्यता, विवशता आफ्नो ठाउँमा होलान् तर परिवारकै खुसीको लागि जागिरे बनेका हामी हाम्रै बाध्यताले परिवार टाढिन्छ, आफन्त टाढिन्छन् भने त्यस्तो जागिरको के औचित्य होला र ?