हामी दिनहुँ नौला नौला मान्छेहरूलाई भेट्छौँ, कुरा गछौं, उनीहरूसँगै काम पनि गछौं । तर, ती सबै हाम्रो यादहरुमा बस्न सक्दैनन् तुरुन्तै भुलिदिन्छौं । हुन पनि यो लामो जीवनमा सबैलाई सम्झेर पनि साध्य छैन ।
कहिले काहि म आफूले आफैलाई सोच्छु अनि छक्क पर्छु । अहिलेसम्म मैले हजारौं मान्छेसँग गफ गरिसकेको छु, सयौं मान्छेसँगै हातमा हात मिलाएर काम गरेको छु तर माफ गर्नुहोस् जब सम्झने कुरा आउँछ तब म केहि व्यक्ती बाहेक सम्झन सक्दिन । अरु त के कुरा गर्नु मलाई सय जनाको नाम समेत आउँदैन ।
जसरी एक वर्षको नानीले आमाले एक थप्पड हिर्काएको एकै छिनमै बिर्सीएर आमाको गालामा गाला टाँसेर रमाउँछ, त्यसरी नै हामी हाम्रा कुनै बेलाका प्यारा साथीहरूलाई विछोड भएको केहि क्षणमै बिर्सिदिन्छौँ ।
बिर्सर्नु र सम्झनु, घृणा गर्नु र हुरुक्क भएर मरिमेट्नु पनि स्वार्थले मान्छेलाई अगाडि बढाइरहेको हुन्छ । कुनै मान्छेबाट अब काम लिने कुनै आशा रहेन भन्ने जानेपछि बिर्सन कुनै तपस्या गर्नु पर्दैन, आशा छउन्जेल त हो सम्झिरहने ।
यसैबीच आज एक साथीले भनिन्- ‘यसरी निरन्तर सम्झिरहँनु ।’ उसको कुराले मन खुसीले गदगद नि भयो । तर, यसो सम्झीए यो चंचल मन समयसँगै अन्यन्त्र अल्झिन्छ अनि म उसलाई कसरी सम्झन सक्छु होला र ?
हिजोसँगै हिडेको साथीले त आज फोन फर्काउनु पर्छ भन्ने सोच्न छाडिसकेको छ न त म्यासेजको रिप्लाई गर्नुपर्छ भन्ने सोच्छ अनि म कसरी कसैलाई सम्झीरहन्छु भन्ने झुटो आश्वासन दिन सक्छु र ? सायद उनीहरुसँग आज बोल्ने फुर्सद छैन, ठिक छ आफ्नो काममा मस्त रहनु म नि भुलिदिन्छु ।
यसो सम्झन्छु- ‘मैले केहिलाई साथी सम्झेर निरन्तर गल्ती गरिरहे । थाहा थियो मैले गल्ती गरिरहेछु तर पनि म त्यहि रमाइरहेको थिए । छोटो पलको मित्र सम्झनुपर्ने थियो तर मैले आफ्नो ठानिरहे । म चुके, नराम्रोसँग चुके । थाहा छैन अबको गन्तब्य कहाँ छ तर पनि सबैको मुहारमा खुसी हेर्ने रहर मरेको छैन । स्वार्थले भरिएको संसारमा आज पनि म खुसी खोजिरहेछु ।’
म त यादहरुलाई संगालेर अघि बढीरहेको छु । म केहि नयाँ सिक्ने त केहि नयाँ पाउने प्रयास गर्दै निरन्तर अघि बढीरहेको छु । एक गन्तव्यहिन यात्रुका रुपमा पाइला चालिरहेछु ।