चाणक्यले भनेका छन्- ‘शिक्षक कहिल्यै साधारण हुँदैनन् । प्रलय र उत्पत्ति दुबै उनको काखमा जन्मेका छन् ।’ र यो कुरा आज पनि उत्तिकै सत्य छ । यही शिक्षा हो जसले सही दिशा दिएमा मानिसलाई देवता बनाउँछ र गलत दिशामा पाइयो भने… तपाईंले बुझ्नुभएको होला ।
तर एकै समयमा मनमा अनेक प्रश्न उब्जिन्छ– के आज हामीसँग विश्वस्तरीय शिक्षक र शैक्षिक संस्था छन् ? के हामीसँग पर्याप्त र योग्य शिक्षकहरू छन् ? यो संख्याको मात्र होइन, शिक्षाको गुणस्तरको कुरा पनि हो । एक सामान्य शिक्षकले सिकाउँछन्, एक औसत शिक्षकले व्याख्या गर्छन्, एक राम्रो शिक्षकले प्रयोग गर्दछ, तर एक महान शिक्षक त्यो हो जसले प्रेरणा दिन्छ ।
हो, महान् शिक्षक त्यो हो जसले बच्चामा लुकेको प्रतिभालाई चिन्ने मात्रै होइन, त्यसलाई चिन्नेसँगै उसलाई फस्टाउँछ र यति हौसला दिन्छ कि उसलाई संघर्षको हावाले पनि बिगार्न सक्दैन ।
त्यसैगरी, परीक्षा विद्यार्थीको योग्यता, विशेषता, सामर्थ्य, गुण आदिको स्तर सही ढंगले पारख गर्ने काम हो । तर परीक्षा भन्नेबित्तिकै जोकोहीको मन झसङ्ग हुन्छ । अर्थात् परीक्षासँग विद्यार्थी डराउँछन् । धेरै नम्बर कसरी ल्याउने ? कसरी पास हुने ? भन्ने चिन्ताले नै विद्यार्थीले परीक्षा बिगार्ने गरेको पाइन्छ । वास्तवमा पढ्नुको मतलब राम्रो नम्बर ल्याउनु मात्र हो र ?
सामान्यतया परीक्षा तर्सिनु पर्ने विषय नै होइन । जिन्दगीमा परीक्षा दिनहुँ हुन्छ । हामीले विद्यार्थीलाई दिनहुँ परीक्षा हुन्छ भनेर बुझाउन नसक्नु नै विद्यार्थीको मनोविज्ञानमा असर गरेको जस्तो देख्न सकिन्छ । त्यस्तै विद्यालय तथा विश्वविद्यालयहरूको चिन्तन पनि विद्यार्थीलाई तर्साउनुपर्छ भन्ने छ । यसले विद्यार्थी डराउनु पर्ने परिस्थिति आएको भन्दा अतियुक्त नहोला ।
कसरी पढ्ने ?
विद्यार्थीले अघिल्ला वर्षको प्रश्नपत्र खोज्नुपर्छ । प्रश्नको वर्गीकरण गर्नुपर्छ । प्रश्नले ज्ञान, सीप, व्यक्तिगत मनोदशा वा तथ्य के खोजेको हो, त्यसको वर्गीकरण गर्नुपर्छ ।
विद्यार्थीको पढ्ने शैली आ–आफ्नै हुन्छ । कोही पहिलेदेखि नै पढ्छन् । कोही जाँचमा मरेर पढ्छन् । कोही साथीसँग संवाद गरेर पढ्छन् । विद्यार्थीले आफूले पढ्ने तरिका कुन हो ? बुझ्नुपर्छ । आफू जसरी पढ्न चाहने हो, त्यस्तै साथी खोजेर पढ्नुपर्छ । यति नै समय पढ्नुपर्छ भन्ने होइन । आफूअनुकूल पढ्नुपर्छ ।
लेख्ने निश्चित नियम हुन्छ । लेख्न कसरी सुरु गर्ने ? बीचमा कसरी लेख्ने ? अन्त्य कसरी गर्ने ? त्यो विद्यार्थीले सिक्नुपर्छ । परीक्षा जिन्दगीमा चलिरहन्छ । डराउनु पर्ने कारण छैन ।