- by admin
मुगु । शुक्रबार सामाजिक सञ्जालमा भाइरल भएको मुगुमा एक महिलाले ६ बच्चा जन्माएको भन्दै पोस्ट गरिएको तस्बिर झुटो भएको पुष्टि भएको छ । पोस्टमा सुत्केरी जस्तो देखिने महिलाको छेउमा ६ नवजात शिशुहरू लस्करै राखिएको तस्बिर देखाइए पनि उक्त घटना मुगुको नभएको खुलेको हो ।
तस्बिरमा पाँच जना स्वास्थ्यकर्मी हाँसिरहेको देखिन्छ, जसलाई धेरैले कर्णाली प्रदेशको मुगु जिल्लाको घटना भन्दै फेसबुकमा सेयर गरेका थिए । तर, जिल्ला जनस्वास्थ्य कार्यालय मुगुका प्रमुखले जिल्लाभित्र ६ बच्चा जन्मिएको कुनै प्रमाण नपाइएको जानकारी दिए ।
उनका अनुसार, ‘यो दाबीको सत्यता पत्ता लगाउन खोज्दा जिल्लाका कुनै पनि स्वास्थ्य संस्थामा यस्तो घटना नभएको स्पष्ट भयो ।’ उनले ६ बच्चा जन्मनु असम्भव नभएपनि यस्तो स्थिति स्वास्थ्यका दृष्टिले अत्यन्त जटिल हुने बताए ।
यस प्रकारका घटनामा गर्भवतीलाई तुरुन्तै उच्चस्तरीय स्वास्थ्य संस्थामा रेफर गरिन्छ । भाइरल फोटोको विषयमा थप जाँच गर्दा यो युट्युबमा रहेको भिडियोबाट लिइएको स्क्रिनसर्ट भएको पुष्टि भएको छ ।